काठमाडौँ, भदौ २४ । राजधानी काठमाडौँमा आज बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश लागू भएको छ। सुरक्षाको संवेदनशीलताका कारण काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नआएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
जारी आदेशअनुसार तोकिएको सिमानाभित्र कुनै पनि व्यक्ति वा समूहले स्वतन्त्र रूपमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ जस्ता गतिविधि गर्न नपाइने प्रष्ट पारिएको छ।



कुन–कुन क्षेत्रमा कर्फ्यु लागू ?
काठमाडौँ महानगरपालिका अन्तर्गतको चक्रपथ क्षेत्रभित्रका सबै भूभागमा कर्फ्यु लागू हुनेछ।
यसमा बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण क्षेत्र पर्छ।
यस क्रममा चक्रपथभित्रका बस्ती, व्यापारिक क्षेत्र र आवासीय क्षेत्र सबै कर्फ्यु आदेशको दायरामा पर्नेछन्।कर्फ्यु अवधिभर सामान्य नागरिकलाई सडकमा हिँड्न, भेला हुन वा कुनै पनि प्रकारका सामूहिक गतिविधि गर्न रोक लगाइए पनि अत्यावश्यक सेवामा भने छूट दिइएको छ।
एम्बुलेन्स, दमकल र शववाहन,स्वास्थ्यकर्मीका सवारी साधन,सञ्चारकर्मीका सवारी साधन,पर्यटक सवारी साधन,मानव अधिकार संस्थाका तथा कूटनीतिक नियोगका सवारी साधन,हवाई टिकट देखाएका यात्रुहरूको आवागमन यी सेवाहरूको आवतजावतलाई सुरक्षाकर्मीहरूले सहज पार्ने सूचना प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरी जारी गरेका छन्।
प्रशासनले कर्फ्यु आदेशलाई उल्लंघन नगरी घरमै बस्न सम्पूर्ण काठमाडौँबासीलाई आग्रह गरेको छ। सुरक्षाकर्मीहरूलाई आवश्यक सहजीकरण गर्न र सम्भावित दुर्घटना रोक्न नागरिकलाई संयमित हुन अनुरोध गरिएको छ।









