तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिकाले आ.व. २०८२. ८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार उपाध्यक्षसँगै करेसाबारी अन्तर्गत विद्यार्थी सचेतना तथा निःशुल्क बीउ वितरण कार्यक्रम सञ्चालन गरेको छ।उपाध्यक्षसँग करेसाबारी कार्यक्रमअन्तर्गत शुक्रबार उपाध्यक्षको उपस्थितिमा विद्यार्थी सचेतना तथा निःशुल्क बीउ वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरूलाई लक्षित गरी गाउँपालिकाभित्रका १९ वटा विद्यालयमा चरणबद्ध रूपमा सचेतना र बीउ वितरण गरिँदैछ। विहीबारदेखि सुरु गरिएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीको उपस्थितिमा शुक्रबार भैरव जनता माध्यमिक विद्यालय र भैरव मेमोरियल बोर्डिङ स्कुलमा सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई सिपमूलक, उत्पादनमुखी र आत्मनिर्भर बनाउनु रहेको गाउँपालिकाले जनाएको छ। बीउ वितरणसँगै विद्यालयका विद्यार्थीहरूलाई करेसाबारीको महत्व, घरमै तरकारी उत्पादन गर्ने तरिका र जैविक खेतीप्रतिको चेतना जगाउने विषयमा समेत जानकारी गराईएको थियो ।
कृषि शाखाका प्रमुख प्रज्ञा लाम्टाङ्गेले करेसाबारीको महत्व, कृषि उत्पादन र आत्मनिर्भर बन्ने अभ्यासका बारेमा जानकारी गराउँदै बीउको सदुपयोग गर्ने र वातावरणीय महत्त्व बीउको गुणस्तर र उचित खेती प्रविधि सम्बन्धी व्याख्या गर्दै विद्यार्थी र शिक्षकहरूलाई कृषि उत्पादन वृद्धि गर्न प्रयोग गर्न सकिने तरिका बारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख शुनिल अधिकारीले विद्यार्थीहरूलाई पोषण र स्वास्थ्य सम्बन्धी विस्तृत जानकारी दिनु भएको थियो। उहाँले सन्तुलित आहार, सरसफाइ, पानीको शुद्धता, रोगप्रतिरोधात्मक क्षमता, र व्यक्तिगत स्वास्थ्य व्यवस्थापनजस्ता विषयमा सचेत गराउँदै, स्वास्थ्यसँग सम्बन्धित चेतनालाई जीवनभरका लागि आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। अधिकारीले भन्नुभयो, स्वस्थ शरीरमा मात्र स्वस्थ मन बस्छ, र स्वस्थ विद्यार्थीले मात्र दीर्घकालीन रूपमा उत्पादनमुखी र समाजको सकारात्मक योगदान गर्न सक्छ।
दुवै विद्यालयका प्रध्यानाध्यापकहरुले गाउँपालिकाप्रति आभार व्यक्त गर्दै, यस अभियान अत्यन्तै व्यावहारिक र प्रभावकारी रहेको उल्लेख गर्दै, यसले विद्यार्थीहरूमा कृषि उत्पादन, पोषणयुक्त आहार, वातावरण संरक्षण र सामाजिक जिम्मेवारीबोधमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारीले कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई लक्षित गरी गाउँपालिकाभित्रका १९ वटा विद्यालयमा चरणबद्ध रूपमा कार्यक्रम सुरु गरीएको बताउदै यसले विद्यार्थीलाई कृषि, स्वास्थ्य र उत्पादनका बारेमा व्यापक जानकारी दिने तथा दीर्घकालीन रूपमा युवा पुस्तालाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने बताउनुभयो ।
उपाध्यक्ष अधिकारीका अनुसार यस अभियानको माध्यमबाट विद्यार्थीहरूमा सिप सिक्ने, श्रमप्रति रुचि बढाउने र उत्पादनमुखी सोच विकास गर्ने उद्देश्य लिइएको छ ।




विद्यालय र घरमा करेसाबारी स्थापना गरेर विद्यार्थीलाई व्यवहारिक रूपमा कृषिसँग जोड्ने हाम्रो लक्ष्य हो। पढ्दै–सिक्दै–कमाउँदै गर्न सक्ने वातावरण सिर्जना गर्न चाहन्छौं, उहाँले भन्नुभयो । विद्यालयबाटै बालबालिकामा सिप, श्रम र आत्मनिर्भरताको भावना जगाउने लक्ष्य राखेका छौं। करेसाबारी कार्यक्रममार्फत उनीहरूमा व्यवहारिक ज्ञानका साथसाथै उत्पादनप्रतिको लगाव पनि बढाउने हाम्रो उद्देश्य हो उपाध्यक्ष अधिकारीको भनाई रहेको छ ।
अधिकारीले थप गर्दै आगामी दिनमा पनि यस्तै विद्यार्थीमूलक र सिप विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताउँदै, “पढ्दै–सिक्दै–कमाउँदै अभियानलाई सफल बनाउन गाउँपालिका प्रतिबद्ध छ,” भन्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले कार्यक्रमको महत्त्वबारे जानकारी दिँदै भन्नुभयो, उपाध्यक्षसँगै सञ्चालन भएको करेसाबारी कार्यक्रमले विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ। हाम्रो उद्देश्य शिक्षा मात्र नभई स्वास्थ्य, उत्पादन र आत्मनिर्भरता समेत सुनिश्चित गर्नु हो।
करेसाबारी कार्यक्रममार्फत विद्यार्थीले आफ्नै हातले बीउ रोप्ने, हेरचाह गर्ने र फलफूल–तरकारी उत्पादन गर्ने अभ्यासबाट श्रम, सिप र आत्मनिर्भरताका मूल्यहरू सिक्ने बताउनु भयो ।
विद्यार्थीहरूमा व्यवहारिक शिक्षाको अवसर प्रदान हुने भन्दै “यस्तो कार्यक्रमले विद्यार्थीलाई केवल पुस्तकमा होइन, व्यवहारमै जीवन उपयोगी सीप सिक्न प्रेरित गर्छ,पालिकाले शिक्षा र कृषि जस्ता क्षेत्रलाई जोडेर ल्याएको यो प्रयास प्रशंसनीय छ। यसले विद्यार्थीलाई सिप, आत्मनिर्भरता र जिम्मेवारी सिकाउने विश्वास लिएका छौं,” अध्यक्ष कार्कीको भनाई रहेको थियो ।
हाम्रो प्राथमिकता केवल शिक्षा मात्र होइन, विद्यार्थीलाई कृषि, स्वास्थ्य र उत्पादनमुखी बनाउनु हो। यस किसिमका कार्यक्रमले बालबालिकामा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ र गाउँपालिकाको विकासमा योगदान पुर्याउँछ।
अध्यक्ष कार्कीले आगामी दिनमा थप यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थीहरूको व्यवहारिक सिप र उत्पादनमुखी सोच विकासमा गाउँपालिका निरन्तर सक्रिय रहने बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रतिनिधि, वडा अध्यक्ष,वडा सदस्यहरु,कर्मचारी, पत्रकार, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत गाउँपालिकाले विद्यार्थीहरूलाई नि शुल्क बीउ वितरण सँगै गाउँपालिकाले कृषि, स्वास्थ्य र उत्पादन क्षेत्रमा सामुदायिक सचेतना फैलाउने महत्वपूर्ण पहल गरेको छ।
कृषि प्राविधिक टंक गौतम सन्चालन तथा वडा न. ४ का अध्यक्ष सोम बहादुर कार्कीको अध्यक्षयतामा भैरव जनता माध्यमिक विद्यालय र वडा सदस्य राजेन्द्र नेपालको अध्यक्षयतामा भैरव मेमोरियल बोर्डिङ स्कुलमा कार्यक्रम सम्पन्न भएको थियो ।







