काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ः०० बजेदेखि बिहीबार बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ ।



देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।






