काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।



आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । वसन्त श्रवण यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ ।
आज शुक्रबार बिहान १०ः२७ बजेको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।






