पाल्पा । तिनाउ गाउँपालिकाको आयोजना तथा प्रदेश सुशासन केन्द्र, नेपालगञ्ज, बाँकेको सहजीकरणमा गुल्मी र पाल्पा जिल्लाका न्यायिक समितिका संयोजक तथा उप–प्रमुखरउपाध्यक्षज्यूहरूको अन्तरक्रिया कार्यक्रम तिनाउ गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा गुल्मी र पाल्पा जिल्लाभित्रका सबै स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षज्यूहरू, न्यायिक समितिमा उजुरी प्रशासकका रूपमा कार्यरत कर्मचारीहरू, प्रदेश सुशासन केन्द्रका लेखा अधिकृत धुव्रकुमार खत्री र तालिम समन्वय विश्लेषक विष्णु न्यौपाने, तिनाउ गाउँपालिकाका कार्यपालिका सदस्यहरू, न्यायिक समितिका सदस्यहरू तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो ।



कार्यक्रममा स्थानीय तहको न्यायिक अधिकार, कार्यक्षेत्र, विद्यमान कानूनी व्यवस्था, व्यावहारिक जटिलताहरू तथा न्याय सम्पादन प्रक्रियाका कानूनी र व्यवहारिक पक्षका विषयमा प्रशासनविद् काशीराज दाहालले सहजीकरण गर्नुभएको थियो । उहाँले स्थानीय तहमा न्याय सम्पादन गर्दा देखिने चुनौतीहरू, मेलमिलाप तथा सहमतिमा आधारित समाधानको महत्व र कानूनी प्रक्रियालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने विषयमा स्पष्ट पार्नुभएको थियो ।
तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । उहाँले शुभकामना मन्तव्य राख्दै संविधानद्वारा स्थानीय तहलाई प्रदान गरिएको न्यायिक अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मेलमिलाप तथा समझदारीको माध्यमबाट सामाजिक सद्भाव प्रवर्द्धन गर्न यस्ता अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, तिनाउ गाउँपालिका जनताका अपेक्षा पूरा गर्न उत्तरदायी र सेवामुखी प्रशासनिक अभ्यासमा निरन्तर अग्रसर रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा तिनाउ गाउँपालिकाले न्यायिक समितिको सन्दर्भमा सम्पादन गरेका असल अभ्यासहरूको भिडियो प्रस्तुति गर्दै प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जनप्रतिनिधिहरूले व्यक्त गरेका नीति, योजना तथा प्रतिबद्धतालाई व्यवहारमा उतार्न गाउँपालिका सक्रिय रूपमा कार्यरत रहेको बताउनुभयो । उहाँले न्यायिक समितिको संस्थागत सुदृढीकरणले स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने धारणा राख्नुभयो ।
कार्यक्रममा गुल्मी जिल्लाको प्रतिनिधित्व गर्दै सत्यवती गाउँपालिकाकी उपाध्यक्ष निरमाया तरामुले हालसम्म न्यायिक समितिहरूले सम्पादन गरेका कार्यहरूको संक्षिप्त समीक्षा गर्नुभयो । उहाँले अनुभव आदान–प्रदानका यस्ता कार्यक्रमहरूले न्याय सम्पादन प्रक्रियामा एकरूपता र प्रभावकारिता अभिवृद्धि हुने बताउँदै कार्यक्रमको आयोजना तथा आतिथ्यका लागि तिनाउ गाउँपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
त्यसैगरी पाल्पा जिल्लाको प्रतिनिधित्व गर्दै तानसेन नगरपालिकाकी उप–प्रमुख प्रतिक्षा सिंजालीले स्थानीय तहहरूबीच समन्वय, सहकार्य र सिकाइलाई निरन्तरता दिन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले यस किसिमका अन्तरक्रियालाई थप प्रभावकारी बनाउन आफूहरू सक्रिय रूपमा संलग्न रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन सत्रमा ‘तिनाउ घोषणापत्र–२०८२’ जारी गर्दै आगामी फाल्गुण २१ गतेपछि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा अन्तरक्रियाको अर्को संस्करण सञ्चालन गर्ने निर्णय गरिएको जानकारी गराइएको छ । उक्त निर्णयसँगै स्थानीय तहका न्यायिक समितिहरूबीच अनुभव आदान–प्रदान, समन्वय तथा संस्थागत सुदृढीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको हो ।







