
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति भीषण पहिरो गएको छ । ढोरपाटनको वडा नम्बर ६, ७, ८ र ९ मा गएराति धेरैबेरसम्म मुसलधारे पानी परेको थियो पहिरोका कारण १२ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएकामध्ये ६ जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण लाकुरीबोटका ३, सुकुरदुङका १, दुनेपँधेराका ३, घट्टबोटका ७ र भुसुन्डेका ३ जना सम्पर्कविहीन भएका छन् । यस्तै बाढीले लाकुरीबोटका ११, दुनेपँधेराका ५, घट्टबोटका ८ र भुसुन्डका १ घरसमेत बगाएको छ । नगरपालिकाको सुकुरदुङस्थित सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्राविसमेत पहिरोले बगाएको छ ।
बोबाङमा रहेका ३ जलविद्युत आयोजना र ३ झोलुँगेपुल पनि पहिरोले बगाएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।











