
काठमाडाैं । आजदेखि नव वर्ष २०८० शुरूआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ ।



नव वर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा. माधवप्रसाद पाण्डेय बताउँछन् । उनका अनुसार प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने योग छ ।
नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उनले बताए ।
“यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्यसम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको शुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं सरकारप्रमुख दुवैले असमञ्जस्यता, अलमल र असहज परिस्थितिको सामना गर्नुपर्ने ग्रहयोग देखिन्छ”, उनले भने ।भदौ महिनादेखि सरकारको सबैभन्दा ठूलो घटक दल कांग्रेसलाई तुलनात्मकरूपमा सहज परिस्थिति निर्माण हुनेछ ।
प्रतिपक्षका लागि पुससम्मै विग्रह र आन्तरिक फुटको अवस्थाको ग्रहयोग देखिएको छ । राजनीतिक अस्थिरता र किचलो नै यो वर्षको विशेषता हुने भएको छ ।
नेपाल राष्ट्र र सरकार प्रमुख दुवै अत्यधिक दबाबमा रहनेछन् । दृश्य अदृश्य विदेशी चलखेल र दबाब बढ्ने ग्रहगोचरीय अवस्था छ । नयाँ रोगव्याधीका कारण जनस्वास्थ्यमा समस्या देखिने अवस्था छ ।
नेपाली आकाश थप असुरक्षित रहेको अनुभूति हुने योग यो वर्ष पनि देखिएको ज्योतिषी पाण्डेय फलित शास्त्रीय विश्लेषण छ ।
अनावृष्टिका कारण दुर्भिक्षका लक्षणसमेत देखिन सक्ने ग्रहयोग २०८० सालमा देखिएको छ ।
लुकेका अपराधीको भण्डाफोर हुने वर्ष
ज्योतिषी पोखरेलका अनुसार यो वर्षभरि हरेक धार्मिक कार्यमा उच्चारण गरिने पिङ्गल संवत्सर एकादश युगको पहिलो संवत्सर हो ।
वृष्टिः समाद्ये प्रमुखे अर्थात् यो वर्ष परेको संवत्सर नामक वर्षमा सम वृष्टि हुन्छ अर्थात् वर्षा न कम, न ज्यादा, आवश्यकतानुसार हुने ज्योतिष एवं वास्तुविद् शिव पोखरेल बताउँछन् ।
संवत्सरको स्वामी देवता अग्नि भएकाले वर्षभरि जनमानसले अग्नि देवताको पूजा वा यज्ञ गर्नाले सम्पत्ति (सुख समृद्धि) हुने वेदमा उल्लेख गरिएको छ । प्रभवादि ६० संवत्सरमध्ये यो पटक परेको पिङ्गल संवत्सरमा गाईआदि दूधारु पशुहरूको हानी, वाहनहरूको नाश, कम वर्षा र शासकहरूमा अचानक सङ्कट उपस्थित हुनाले द्वन्द्व हुने योग देखिएको उनी बताउँछन् ।
संवत्सरको अगाडि यदि बृहस्पति राम्रो राशिमा गोचर गरिरहेको छ, अस्त छैन, स्वच्छ विम्बवाला छ, कुनै ग्रहका साथ युति विशेषतया गूढ युति नगरेको छ र बलवान् सुस्थित ग्रहबाट दृष्ट छ भने भनिएका शुभ फल अधिक मात्रामा हुन्छ र अशुभ फल सीमित नै रहन्छ । यसको विपरीत स्थिति हुँदा अशुभता धेरै बढ्न सक्ने मानिने ज्योतिषी पोखरेलको भनाइ छ ।
यो वर्ष वैशाख ९ गते बृहस्पति रेवतीबाट अश्विनी नक्षत्रमा तथा मिनबाट मेषमा सर्ने र वैशाख १९ गते अश्विनी नक्षत्रमा उदय हुन्छ । वैशाख ९ गतेदेखि कात्तिक १३ गतेसम्म आकाश मण्डलमा राहु बृहस्पतिको युतिद्वारा चाण्डाल योगको सृजना भएको देखिनु शुभ होइन । गएको वर्ष २०७९ सालमा शनि राजा भए पनि पूरै वर्षभरि नै बृहस्पति शुभ मानिने आफ्नो स्वराशि मीनमा भ्रमण गरिरहेको अवस्था थियो । यसले सकारात्मक फल दिएको थियो ।
यस वर्ष संवत्सरमुख मङ्गलबार परेको हुनाले दुर्घटनाहरू हुन सक्छन् भनेर ज्योतिष शास्त्रका ग्रन्थमा सङ्केत गरिएको छ । यो पटक बृहस्पति उदय हुँदा र संवत्सर परिवर्तन हुँदा पनि संवत्सर पुरुषको खास अङ्गहरू मानिने नक्षत्रमा कुनै पनि पापग्रहको भ्रमण नहुनु यो वर्षका लागि शुभ प्रभाव मान्न सकिन्छ । विगतका वर्षमा संवत्सर पुरुषको खास अङ्गमा अशुभ फलदायक मानिने ग्रहले भ्रमण गरेको अवस्था थियो ।








