नवराज ज्ञवाली
पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानमा साँस्कृतिक महोत्सव हुने भएको छ । भ्रमण वर्षलाई लक्षित गर्दैे साताव्यापी रुपमा ‘भैरबस्थान सांस्कृतिक महोत्सव’ आयोजना गरिएको हो । रिब्दीकोट गाउँपालिका कार्यालय, वडा नं. ४ वडा कार्यालय र भैरवनाथ मन्दिरको संयुक्त आयोजनामा फागुन २७ देखि चैत २ गतेसम्म संचालन हुने भएको हो । सांस्कृतिक महोत्सवमा रिब्दीकोट गाउँपालिकाका ८ वटै वडाका कलासंस्कृती प्रदर्शनी बताइएको छ । महोत्सव सम्पन्न गर्नका लागि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालको संयोजकत्वमा मुल समिति गठन गरिएको छ भने विषयगत उपसमितिहरु समेत गठन गरिएको छ ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गरिरहँदा गत ११ गते कार्यपालिकाको बैठकले भ्रमण वर्षलाई समेत लक्षित गरी सांस्कृतिक महोत्सव गर्न लागिएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले जानाकरी दिए ।
महोत्सवमा ८ वटै वडाबाट परम्परागत रुपमा खेली नाच, फागु नाच प्रर्दशन गरिने उनले बताए । महोत्सवको प्रचारप्रसारकालागि गाउँपालिकाको टोली बुधबार प्रदेश राजधानी बुटवल पुगेको थियो ।
उक्त टोलीले बुटवलमा गरेको अन्तरक्रिया छलफल कार्यक्रममा पनि सहभागिहरुले पाल्पाको पर्यटन विकासको प्रमुख धरोहर भैरवस्थान रहेको बताएका थिए । पाल्पाको पर्यटन प्रर्वद्धनका लागि रिब्दिकोटलाई केन्द्र बनाउनु पर्ने उनीहरुको भनाई थियो ।
पाल्पाका पूर्व जिल्ला विकास समितिका सभापति झपेन्द्र जिसीका अनुसार वि.सं. १३६३ मा चंकिपुरबाट पाल्पा राज्य सञ्चालन भएको र पछि १५४९ मा रुद्र सेनले पूर्णाकोट सारेपछि त्यहिबाट पाल्पा राज्य सञ्चालन भएकाले पनि रिब्दिकोटको ऐतिहासिक रहेको बताए । तत्कालिन राजा मणिमुकुन्द सेनले रुरुको ऋषिकेश मन्दिर, भैरवस्थान, प्रवाश शिवालय, तानसेनको सेनमाविको बटुक भैरव मन्दिर, माडीमा रुद्रेश्वर महादेव मन्दिर लगायतका धार्मिक स्थलहरु निर्माण गरेको उनले उल्लेख गरे । पछि राज्य तानसेनमा सारियो । सेन बंसीय पाल्पा राज्य (पूर्णाकोट) रिब्दिकोट गाउपालिकाको वडा नं. ४ भैरवस्थानमा पर्दछ ।
त्यस्तै भैरवस्थान निवासी बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले पाल्पाको भैरवस्थानलाई केन्द्रमा राखेर आर्थिक समृद्धिका धेरै काम गर्न सकिने बताउँदै त्यसकालागि गाउँपालिकाले वातावरण बनाउनु पर्ने बताए । बुटवल र पाल्पा रिब्दिकोटको बिचमा अन्तर सम्बन्ध पनि धेरै प्रकारले रहेको बताउँदै गर्मिको समयमा समय व्यतिति गर्ने ठाउँको रुपमा विकास गर्न सकिने उल्लेख गर्दै उनले त्यसकालागि यातायातको विकास गर्नुपर्ने भनाई राखेका थिए ।
त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष जिसी तथा भैरवस्थानका बुद्धिजिवी मेघराज पौडेलले त्यस क्षेत्रको बिकासकालागि गाउँपालिका मात्रै भन्दा पनि त्यस गाउँपालिकासंग अन्तरसम्बन्ध भएका लगानीकर्ताहरुलाई थोरै भएपनि लगानी विस्तारका लागि आग्रह गरे ।
सांस्कृतिक महोत्सवको पहिलो दिन फागुन २७ गते उद्घाटन सहित परम्परागत होली (फागु)को झाँकी प्रदर्शन गरिने छ । त्यस्तै २८ गते रक्तदान, २९ गते सरसफाई, ३० गते बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, १ गते कुसुमखोला स्थित जलेश्वर भ्रमण र २ गते विभिन्न कला संस्कृतिका झाँकी सहितको ¥याली, सभा तथा सम्मानको कार्यक्रम रहेको संयोजक लक्ष्मी खनालले जानकारी दिइन् ।











