नवराज ज्ञवाली
पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका हार्थोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकले लक्ष्मी माध्यमिक विद्यालय मालमुल, भवानी माध्यमिक विद्यालय कुसुम खोला र हार्थोक बजार व्यवस्थापन समिति बीच वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । रिब्दीकोट गाउँपालिकाको कुसुम खोला र मालमुलमा रहेका दुबै विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक हार्थोकका अनुसार बैंकले सामाजिक संथागत उत्तरदायित्व अन्तरगत रहेर गाउँपालिकाको दुई वटा विद्यालय र हार्थोक बजार व्यवस्थापन समितिसंग वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक हार्थोककी शाखा प्रबन्धक गायत्री कार्कीले दुबै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको महत्व बोध गराउदै दैनिक जीवनमा बैंकिङ कारोबारका फाईदाहरु, भविष्यको योजना बारे जानकारी दिदै बैंकबाट प्राप्त गरिने सेवा सुविधा, बचत र यसका फाईदाहरु, कर्जा लिने प्रक्रिया सहित बैंकिङ क्षेत्रको विस्तारले देशको अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराईन् । वित्तीय साक्षरता कार्यक्रममा शाखा प्रबन्धक कार्कीले वित्तीय कारोबार सम्बन्धी विद्यार्थीहरुलाई जानकारी दिई जागरुक बनाईन् । कार्यक्रममा दुई वटा विद्यालयका विद्यार्थी सहित हार्थोक बजार व्यवस्थापन समितिका पदाधीकारी र व्यवसायी गरी करिब ३ सय बढीको उपस्थिती रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमकै अवसरमा वाणिज्य बैंक हार्थोकले भवनानी माध्यमिक विद्यालय कुसुमखोला र लक्ष्मी माध्यमिक विद्यालय मालमुललाई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन एक–एक वटा इलेक्ट्रीक फिल्टर दुबै विद्यालयलाई वितरण गरेको छ । त्यस्तै कार्यक्रमकै अवसर पारेर बैंकले सामाजिक दायित्व अन्तरगत हार्थोक बजार व्यवस्थापन समितिलाई तीन वटा डस्विन उपलब्ध गराएको छ । वित्तीय जागरण कसरी गराउने र जनतासँग बैंक कसरी पुग्ने भन्ने उद्देश्य अनुसार वाणिज्य बैंकले आफ्ना देशभरी छरिएर रहेका शाखा कार्यालय मार्फत यो कार्यक्रम संचालन गरिरहेको जानकारी बैंकका सहायक शाखा प्रबन्धक विक्रम सिंहले बताए ।











