वैशाख १८,बुटवल ।
रुपन्देही प्रशासनले कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ । बेलहिया भन्सार नाकाबाट खाद्यान्नका मालबाहक सवारी साधनबाहेक भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगबाट कसैलाई पनि प्रवेश गर्न नदिएको प्रशासनको दावी छ ।
बेलहियादेखि कपिलवस्तुको सीमा क्षेत्रसम्मको ६० किलोमिटर दूरीमा ८९ वटा अस्थायी चेकपोष्टमा एक हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ । एउटा पोष्टबाट अर्को पोष्टसम्म मानिस आउजाउ गरेको देख्न सकिने गरी पोष्ट खडा गरी चौबीसै घण्टा ड्युटी गर्ने गरी प्रहरी तैनाथ गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताए ।



एउटा पोष्टमा ५ जनादेखि ८ जनाले दैनिक १२ देखि १६ घण्टा ड्युटी गरेर भारततर्फबाट कसैलाई प्रवेश गर्न नदिएको प्रहरी उपरीक्षक पोखरेलले बताए । दैनिक १५ जनादेखि २० जनासम्म सीमा क्षेत्रबाट नेपाल आउन खोज्ने व्यक्तिलाई सम्झाएर भारतीय प्रहरीको जिम्मा लगाउने गरिएको पोखरेल बताउँछन् ।
लकडाउनका कारण रोकिएका एकसय ५४ जना भारतीयलाई २४ दिन नेपालको क्वारेन्टाइनमा राखेपछि भारत पठाइएको र दुई सय १३ जना नेपालीलाई पनि सीमापारिबाट नेपाल ल्याइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
रुपन्देहीमा अझै ४८ जना भारतीय नागरिक बुटवल, तिलोत्तमा, देवदह, सैनामैना र मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए । उनीहरु नेपालका विभिन्न विकास आयोजनामा काम गर्दै आएका हुन् ।








