बैशाख १९, दाङ ।
घोराही उपमहानगरपालिका दाङले लकडाउनका कारण समस्यामा परेका श्रमिकहरुलाई रोजगारी दिने भएको छ। उपमहानगरले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दैनिक खाने समस्या भएका श्रमिकलाई रोजगारी दिई ज्याला नगद नै उपलब्ध गराउने निर्णय गरेको हो। नगरको ७९ औँ कार्यपालिका बैठकले लकडाउन लम्बिदै जाँदा श्रमिकहरु मारमा परेको र छाक टार्न नै समस्या भएको भन्दै उक्त निर्णय गरेको हो।
भौतिक दूरी कायम गर्दै काम गर्ने र दैनिक ५१७ रुपैयाँ ज्याला दिने निर्णय भएको उपमहानगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए। करिब तीन हजार घर परिवारलाई अहिले खाद्यान्न राहत स्वरुप वितरण गरिएको र लकडाउन लम्बिँदै जाँदा छाक टार्ने विकल्पको रुपमा रोजगारी दिने निर्णय गरिएको प्रमुख चौधरीले बताए।



चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्वीकृत आयोजनाहरुमध्ये प्राथमिकता अनुसारका आयोजना छनौट गरी निकासा भएको बजेटकै सीमाभित्र रही आयोजना सञ्चालन गर्ने उपमहानगरले निर्णय गरेको हो।
चालु आर्थिक बर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ६१ लाख ३० हजार रुपैयाँ बजेट आएको छ। राहत वितरणले धान्न नसक्ने देखिएपछि कोरोना संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्दै काम दिने र दैनिक ज्याला दिने निर्णय भएको उपमहानगरको भनाइ रहेको छ।








