पाल्पा ।
कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रीमा एकरुपता नभएको व्यापक गुनासो आएपछि पाल्पाको माथागढी गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गरेको छ । मुल्यमा एकरुपता र व्यवस्थित गर्न मूल्य निर्धारण गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।
गाउँपालिकाको क्षेत्र अधिकार भित्र रहेका आठ वटा सहकारी संस्थाहरूमार्फत कृषकहरुलाई एउटै मूल्यमा सहज र व्यवस्थित तरीकाले मल वितरण गर्नका लागि अधिकतम मूल्य निर्धारण गरिएको अध्यक्ष मगरले बताए ।
गाँउपालिका र रासायनिक मल विक्रि वितरणको कारोबार गर्ने सहकारी संस्थाहरूको सञ्चालक एवं प्रतिनिधि सहितको बैठकले भौगोलिक आधारमा उपभोक्ताहरूलाई विक्रि गर्ने मूल्य निर्धारण गरेको थियो । बैंठकले वडा नं १,२ र ३ मा युरिया प्रति बोरा ९ सय, फुटकर प्रति किलो रु २० मूल्य निर्धारण गरेको छ ।
त्यस्तै डिएपि प्रति बोरा २ हजार ४ सय, फुटकर प्रति किलो ५०, पोटास प्रति बोरा १ हजार ७ सय, फुटकर प्रति किलो ३५ रूपैयाँ निर्धारण गरिएको छ । वडा नं ४ का कृषकहरुका लागि युरिया प्रति बोरा ९ सय ५०, फुटकर प्रति किलो २१, डिएपि प्रति बोरा २ हजार ४ सय ५०, फुटकर प्रति किलो ५१, पोटास प्रति बोरा १ हजार ७ सय ५०, फुटकर प्रति किलो ३६ रहेको छ ।



वडा नं ७ का कृषकका लागि युरिया प्रति बोरा १ हजार, फुटकर प्रति किलो २२, डिएपि प्रति बोरा २् हजार ५ सय, फुटकर प्रति किलो ५२, पोटास प्रति बोरा १ हजार ८ सय, फुटकर प्रति किलो ३७ निर्धारण गरिएको छ ।
त्यस्तै वडा नं ८ मा युरिया प्रति बोरा १ हजार ५०, फुटकर प्रति किलो २३, डिएपि प्रति बोरा २ हजार ५ सय ५०,फुटकर प्रति किलो ५३,पोटास प्रति बोरा १ हजार ८ सय ५०, फुटकर प्रति किलो ३८ रूपैयाँ निर्धारण गरेको छ ।
मूल्यमा एकरुपता कायम भएसँगै कृषकहरु हर्षित भएका छन् । विगतमा मल, विउविजनहरु सहकारीमार्फत खरिद विक्री भए पनि टाठाबाठा व्यापारीहरुले सहकारीसँग मिलेर महंगो मूल्यमा विक्री गर्दा कृषकहरु समस्यामा पर्ने गरेका थिए ।








