बैशाख १९, गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकाले विपन्न परिवारको लागि दोस्रो चरणको राहतस्वरुप रोजगारी दिने निर्णय गरेको छ। गाउँकार्यपालिकाको बैठकले विपन्न तथा मजदुर परिवारका लागि सीधै राहत वितरण नगरी खाद्यान्नका लागि काम दिने निर्णय गरेको हो ।
देश लकडाउनमा रहेका बेला विपन्न तथा मजदुर परिवारका लागी राहत वितरण नगरी खाद्यान्नका लागि काम दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए।



श्रम गर्न मजदुर तथा विपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन्। सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाइलगायत क्षेत्रमा रोजगार प्रदान गरिने गाउँपालिकाले जनाएको छ। काम गरेबापत राष्ट्रिय मापदण्डअनुसार पारिश्रमिक प्रदान गरिने जनाइएको छ।
पहिलो चरणमा सात सय ७९ जनालाई राहत वितरण गरेको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो।
कोरोना भाइरसबाट बच्न गरिएको लकडाउलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी बढीमा पाँच जना सम्मको समूह बनाई नजिकको स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिए।








