वैशाख १९, काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्ग होङ्गले पर्यटनमन्त्री योगेश भट्टराईको रोहबरमा सचिव केदारवावु अधिकारीलाई ती सामग्री हस्तान्तरण गरिएको छ । मन्त्रालयका अनुसार २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई गान्सु प्रान्तले उपलब्ध गराएको छ ।



उक्त अवसरमा मन्त्री भट्टराईले कोरोना विरुद्धकोे लडाईमा प्राप्त स्वास्थ्य सामाग्रीले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । सहयोगले नेपाल–चीनवीचको सम्वन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनतावीचको सम्वन्धलाई पनि प्रगाढ बनाउने उनको भनाइ थियो । मन्त्रालयका सचिव अधिकारीले चीन सरकारका विभिन्न तहबाट नेपाललाई प्राप्त सहयोग प्रति आभार व्यक्त गरे ।
गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकता अनुसार थप सहयाग गर्दै जाने आश्वासन दिए । चीनवाट शुरु भएको कोरोनाको प्रकोप अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको छ ।
नेपाललाई महामारीबाट हुनसक्ने धनजनको क्षतिवाट बचाउन थप आवश्यकता चाहिए सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।
महामारी र प्रकोप मानिसको नियन्त्रणमा नहुने उल्लेख गर्दै उनले मानव–मानववीचको सद्भाव कायम राख्न र दुई देशवीचको प्रगाढ सम्वन्धलाई अझ सुदृढ बनाउने निरन्तरताका रुपमा यो सहयोग प्रदान गरिएको बताए ।









