बैशाख १९, नवलपरासी ।
पश्चिम नवलपरासीमा कोरोना संक्रमण परीक्षण गर्न २०७ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएको छ। यी मध्ये ४१ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भने १६६ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ।
सुनवल नगरपालिकाका ३७ जना र बर्दघाट नगरपालिकाका चार गरी ४१ जनाको स्वाब परीक्षण रिपोर्ट आइसकेको तथा जिल्लाका सातवटै स्थानीय तहमा क्वारेन्टाइनमा रहेका र यस अघि क्वारेन्टाइनमा बसेर घर फर्किएकाहरुको स्वाब परीक्षणलाई तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नलपरासीका प्रमुख गौरभ ढकालले जानकारी दिएका छन्।



सुनवल नगरपालिकामा ३७, रामग्राम नगरपालिकामा २५ र बर्दघाट नगरपालिकामा ३४ जनाको स्वाव संकलन गरिएको छ। पाल्हीनन्दन गाउँपालिकामा ३६, सरावल गाउँपालिकामा २५, प्रतापपुर गाउँपालिकामा २५ र सुस्ता गाउँपालिकामा २५ जनाको स्वाव संकलन भएको ढकालले बताए।
प्रदेश ५ सरकारले पश्चिम नवलपरासीमा २९८ भिटिएम उपलब्ध गराएकोमा २०७ वटा प्रयोग भएपछि अब ९१ वटा भिटिएम बाँकी रहेको छ। जिल्लामा यसअघि १७५ जनाको आरडिटी परीक्षण गर्दा १७४ जनाको नेगेटिभ र १ जना ७८ वर्षीया बृद्धको एन्टीबडी पोजेटिभ देखिएको थियो। उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो।
जिल्लाका बर्दघाट नगरपालिकामा १५, सुनवल नगरपालिकामा नौ, रामग्राम नगरपालिकामा १४ जनाको आरडिटी परीक्षण गरिएको छ। प्रतापपुर गाउँपालिकामा ४९ जना, सुस्तामा ४०, सरावलमा १३ र पाल्हिनन्दनमा १८ जनाको आरडिटी परीक्षण गरिएको हो। जिल्लाभर होम क्वारेन्टाइनमा रहेका १७ जनाको आरडिटी परीक्षण गरिएको थियो।
जिल्लामा प्रदेशबाट ३२० पिस कीट आएकोमा १७५ वटा प्रयोग भएपछि १४५ वटा कीट बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ढकालले बताए। अहिले पश्चिम नवलपरासीका सातवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १३० जना रहेका छन्। जिल्लाका क्वारेन्टाइनमा बस्नेहरु भारतलगायत तेश्रो मुलुकबाट आएकाहरु रहेका छन्।
पश्चिम नवलपरासीमा संकलन गरिएका स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने गरिएको छ। भैरहवामा पनि परीक्षण ल्याब भएपनि त्यहाँबाट नपठाउन आग्रह गरिएकोले काठमाडौंनै पठाउने गरिएको हो।








