बैशाख २६,गुल्मी ।
भारतका विभिन्न स्थानबाट गुल्मी जिल्लामा आएका ६८ जनाको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएकाको स्वाब परिक्षण गर्दा सम्पुर्णको नतिजा नेगेटिभ आएको हो । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए ।



भैरहवास्थित प्रदेश प्रयोगशालामा किटको अभाव भएपछि पिसिआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भरतराज शर्माले जानकारी दिए ।
भारतवाट आएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका अधिकांश व्यक्ति बिहीबार घर फर्किसकेको र बाँकीलाई शुक्रवार पठाउने तयारी गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । उनीहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि स्थानीयवासीमा त्रास हटेको पोख्रेलको भनाइ छ ।
दुई सातासम्म सीमा नाकामा बसेकामध्ये धुर्कोटका ५३, रेसुंगा नगरपालिकाका सात, मुसिकोटका तीन, चन्द्रकोट गाउँपालिकाका दुई तथा मदाने र रुरुक्षेत्र गाउँपालिकाका एकएक जना पालिकाका क्वारेन्टाइनमा बसेका थिए ।
जिल्लामा हालसम्म ७५ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । रासस








