बुटवल ।
प्रदेश ५ को प्रदेशसभाका सांसदको आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ । शुक्रवार बाटसुरु हुने बजेट अघिवेशनलाई मध्यनजर गरी गरिएको परिक्षणमा दुई जना सांसदको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो।
प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्ड गरी ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो।



प्रदेशसभाले पीसीआर टेष्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको थियो। प्रदेशका ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीका अनुसार ४० जना पत्रकारको पनि आरडीटी परीक्षण गरिएको छ।
पोजिटिभ नजिता आएका सांसदलाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छ। प्रदेश ५ को बजेट अधिवेशन शुक्रवार दिउँसो एक बजेका लागि आह्वान गरिएको छ।








