जेठ१३,पाल्पा ।
बन्दाबन्दीका समयमा पाल्पाका युवा कृषिमा सक्रिय बनेका छन् । यहाँका विभिन्न स्थानमा तरकारी, फलफूल खेती तथा पशुपक्षी पालन गर्ने कृषकको संख्या बढेको छ ।
जिल्लामा व्यावसायिक फार्म दर्ता गर्ने तथा आफूखशी तरकारी खेती गरेर गाउँमै बिक्री हुने भएपछि यसप्रति आकर्षण बढेको हो । मौरी, कुखुरा, बङ्गुर, गाई, भैंसीपालन तथा मौसमी तथा बेमौसमी तरकारी खेतीमा युवाको आकर्षण देख्न सकिन्छ ।



तानसेन नगरपालिका–१४ अर्गलीका कृषक निर्मल राना बन्दाबन्दीका समय खेतबारीमै भेटिन्छन्। करीब २५ रोपनी जग्गामा विभिन्न तरकारी खेती गदै आएका रानाको वर्षमा करीब रु २० लाख आम्दानी हुने गरेको बताउछन्।
जिल्लामै उदाहरणीय कृषकका रुपमा परिचित रानाले २०७४ सालमा कृषि फार्म दर्ता गरेर खेती गर्दै आएका छन्।बारीमा उत्पादित करेला, टमाटर, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीका लागि बजारको समस्या नभएको रानाको भनाइ छ ।
रामपुर नगरपालिका –८ एक्लेटारमा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर सञ्चालन गरेका नरनारायण अर्यालको गोठमा अहिले ५७ भैंँसी छन् । गत वर्षदेखि व्यवसाय थालेका अर्यालले यसअघि दैनिक २४० लिटरसम्म दूध बिक्री गरे पनि अहिले भने दाना र घाँसको माग भएजति पु¥याउन नसक्दा दैनिक चार लिटर दूध दिने भैंसीले जम्मा दुई लिटर दिने गरे पनि सन्तुष्ट छन् । करीब रु एक करोड ४० लाख लगानी गरेर भैंँसी पाल्नुभएका अर्याल राम्रो आम्दानी गर्न सफल भएको छ ।
जिल्लामा केही स्थानीय तहले युवालाई कृषिमा आकर्षण गर्न विभिन्न योजना अघि सारेका छन् । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहेका बेला घरमै खाली समय बिताउनुभन्दा खेतबारीमा काम गर्दा समय बिताउन सहज हुने र आम्दानी पनि हुने कृषक बताउँछन् ।
निस्दी गाउँपालिकाबाट प्लाष्टिक टनेल निर्माण गर्न अनुदान पाएसँगै ६ हाइटेक टनेलमा लालबहादुर खन्गाहाले पनि टमाटर खेती गरिएको छ । विदेशबाट फर्केर गाउँमै तरकारी खेती थालेका खन्गाहाको यस वर्ष तरकारी बेचेरै करीब रु पाँच लाख कमाउने लक्ष्य छ । (रासस)








