काठमाडाैँ ।
नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन उकालो लागिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६ हजार ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भने कोरोनाका कारण १९ जनाले ज्यान गुमाइसकेका छन्।
मन्त्रालयका अनुसार मंगलबार ३ सय ८० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो। जसमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ जना महिला रहेका छन्।



मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा २ जना, धरानमा भएको परीक्षणमा ४ जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, विरगञ्जमा भएको परीक्षणमा २ जना, पोखरामा भएको परीक्षणमा २१ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ।
यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा ३ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा १, रुपन्देहीमा भएको परीक्षणमा ४ जना, सुर्खेतमा ९ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, दाङमा भएको परीक्षणमा ५७ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा १ सय १४ जनामा पोजेटिभ देखिएको छ।
यस्तै मंगलबार १ सय १७ जना गरी हालसम्म १ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ।
यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ। अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना र क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।








