असार १०,काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक आफ्नो जन्मोत्सव नमनाउने भएका छन् । असार २३ गते परेको आफ्नो ७४ औं जन्मोत्सव नमनाउने निर्णय गरेको बुधबार साँझ प्रेस विज्ञप्ति जारी गरी उनले जानकारी दिएका छन् ।
कोरोना भाइरसका कारण मुलुक विषम परिस्थितिमा रहेको भन्दै पूर्वराजाले जन्मदिन नमनाउने निर्णय गरेको बताएका छन् ।



आजको कालखण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुनेतर्फ दलहरुको ध्यानाकर्षण गर्दै पूर्वराजाले राष्ट्र एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र विकासको चिन्तन कहिले कसले र कोबाट भयो भनी आम हेक्काको विषय भएकोतर्फ सचेतगराएका छन्।
गौरवमय इतिहासलाई स्वीकार गरेर जानुपर्नेमा जोड दिँदै राष्ट्रियता नै मुल मन्त्र र एकता नै शक्ति भएको स्मरण समेत पूर्वराजाले गराएका हुन् ।
कोरोना भाइरसको संक्रमणको समयमा नेपालीले भोग्नु परेको गास, बास र कपास लगायतका विविध समस्या समाधान गर्न सरकारसंग आग्रह गर्दै पूर्वराजा शाहाले विविध कारणले विदेशबाट फर्केकालाई आफ्नै देशमा श्रम, सीप र क्षमताको सदूपयोग गर्न पनि आग्रह गरेका छन् ।








