असार ११, काठमाडौं ।
नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको बुधवार राती मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्याउ गुमाउनेको संख्या २५ पुगेको छ।
प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार गत असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो। ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ।



कोभिड १९ पोजेटिभ भई उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका यी पुरुष दोस्रो व्यक्ति हुन्। यस अगाडि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृत्यु भएको थियो। गण्डकी प्रदेशमा ज्यान गुमाउने संक्रमितको संख्या दुई पुगेको छ।
इमर्जेन्सी बाहेकको सबै सेवा बन्द
कोरोना संक्रमितको ज्यान गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी बाहेकको सबै सेवा बन्द गर्न लागेको छ । एक दिनको लागि ओपीडी बन्द गर्न लागेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार संक्रमित पुरुषको मृत्यु पछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिने भएको छ । आज एक दिनको लागि मात्रै अन्य सेवा बन्द गरिने उनले जानकारी दिए ।








