बुटवल ।
बुटवलमा शुक्रबार राती भएको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१० रामनगरमा भएको दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुवँर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी ट्रकमा ठोक्किंदा गुरुङको घटनास्थलमै र कुँवरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक गोबिन्दप्रसाद रेग्मीले जानकारी दिए ।



रामनगरमा रोकीराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको मिनि ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको हो । मिनिट्रकका चालक बुटवल–११ प्रतिनगरका २५ वर्षीय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् ।
बिग्रिएर रोकिराखेको ट्रकमा मिनि ट्रक ठोक्किएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोबिन्दप्रसाद रेग्मीले जानकारी दिए ।सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









