काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घन्टामा ५५४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालका ७७ ओटै जिल्लामा संक्रमण देखिएको जानकारी दिनुभयो ।रसुवाका आठ महिला र एकजना पुरुषमा संक्रमण देखिएसँगै ७७ ओटै जिल्लामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।



यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
फोक्सोको क्यान्सरका बिरामी उनीसहित चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार बिहान मृत्यु भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ। अहिले क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना रहेका छन् भने ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन्।
शनिबार १ सय ३६ गरी आजसम्म २ हजार ८ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।








