असार १४,काठमाडौं ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले आइतबार पछिल्लो २४ घण्टामा एक सय पाँच महिलासहित चार सय ६३ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको बताउनुभयो ।
यस्तै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमध्ये १३ महिला र १ सय ६६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ।
यसैगरी पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको प्रवक्ता डा. गाैतमले बताए।
डा. गाैतमका अनुसार देशभरीका विभिन्न क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् भने ९ हजार ७ सय ३१ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ।
कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ। हालसम्म देशका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ।








