असार १४, गुल्मी ।
गुल्मीमा पहिराले घरगोठ बगाउँदा रु २५ लाख बराबरको क्षति भएको छ । गएराति गुल्मी दरबार गाउँपालिका–१ बलिथुम पीपलपोखरास्थित लोकबहादुर सोनारीको घरगोठ बगाउँदा उक्त क्षति भएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षाले सोनारीको घरभन्दा करिब २० मिटरमाथिबाट आएको पहिराले घरगोठसहित खेती गर्दै आएको जग्गासमेत बगाएको छ ।
रातिको समयमा सोनारीका छोरा बाहिर निस्केका बेला ढुङ्गा खसेको देखेपछि परिवारका सबै सदस्यलाई उठाएर भाग्न सफल भएका थिए । मानवीय क्षति नभए पनि घरगोठ र खेती गर्दै आएको जग्गा पूर्णरुपमा पहिराले बगाएर नष्ट गरेको स्थानीय मणिराम अर्यालले जानकारी दिए । गोठमा रहेका एउटा भैँसी, एउटा दुहुँनो गाई, चारवटा बाख्रा, दुईवटा ब्याउने सुँगुर, एउटा बोकालगायत सबै गाईबस्तु मरेका छन् भने घरमा रहेको केही नगदसहित खाद्यान्न र एक तोला सुन पुरिएको छ ।



विस्थापित सोनारीको पाँच जनाको परिवारलाई जनज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन गरिएको छ । पहिरो प्रभावित परिवारलाई बलिथुम युवा क्लबले एक सेट पकाउने भाँडा दिएको छ । सोनारीको घर नजिकै रहेका तीन घर पनि पहिराको उच्च जोखिममा रहेकाले उनीहरुलाई पनि विद्यालयमै व्यवस्थापन गरिएको छ ।रासस









