असार १६ ,पोखरा ।
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयअनुसार कोरोना संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका छन् । साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमण पुष्टि भएको छ ।



मंगलबार कोरोना संक्रमित पुष्टि हुनेमा ८ जना कास्कीका छन् । त्यस्तै, मंगलबार नै कोरोना संक्रमण पुष्टि हुनेमा तनहुँका ५ जना छन् । लमजुङका ३ जनामा संक्रमण भेटिएको छ । त्यस्तै, स्याङ्जा पुतलीबजारका ३० वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ जना पुगेको छ । जसमध्ये २ जनाको कोरोना उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोनाबाट निको भएर घर फर्किनेको संख्या २ सय १४ छ ।








