असार १६, बुटवल।
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पश्चिम नवलपरासीका एक व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
बर्दघाट नगरपालिका–२ स्थित दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान अस्पतालमा मृत्यु भएको थियो ।



बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो ।
भारतको मुम्बईबाट आएर उनी असार १२ गते देखि क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका थिए । पहिलेदेखि नै मुटु र प्रेसरका बिरामी उनको उपचारको क्रममा मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको थियो ।









