असार१६, गुल्मी ।
गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आइसोलेसनमा १४ दिन बसेका उनीहरु मंगलबार डिस्चार्ज भएका हुन् । मंगलबार डिस्चार्ज भएका सँगै गुल्मीमा घर फर्किने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । जसमध्ये ७८ जना पुरुष र ९ जना महिला रहेका छन् ।
पछिल्लो तथ्यांक अनुसार आइसोलेसनबाट घर फर्किनेहरुमा रेसुङ्ग नगरपालिकाका ३६, रुरुक्षेत्र गाउँपालिकाका १६, इस्मा गाउँपालिकाका १७, मालिकाका ४ तथा चन्द्रकोट, मदाने, धुर्कोट र छत्रकोटका १र१ जना रहेका छन् । त्यस्तै डिस्चार्ज हुनेमा गुल्मी दरबारका ४ जना र सत्यवती गाउँपालिकाका ६ जना रहेका छन् ।



स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आसोलेसनमा राखेर घर पठाउने गरिएको छ ।
आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रवधान बनाइएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।









