असार १६,पाल्पा ।
मंगलबार थप ४१ जनामा कोरोना संक्रमण देखिए संगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय १४ पुगेको छ । भैरहवा स्वास्थ्य प्रयोगशाला र केन्द्रीय प्रयोगशालामा सोमबार र मंगलबार गरिएको परीक्षणमा ३८ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाको छ ।
संक्रमित हुनेहरुमा रम्भा गाउँपालिकाका १५ जना पुरुष, २ महिला गरी १७ जना, रैनादेवी छहरा गाउँपालिकाका १२ पुरुष, १ महिला गरी १३ जना, पूर्वखोलाका १० जना पुरुष र रामपुर नगरपालिकाका १ जना पुरुष रहेका छन् ।



उनीहरु सबै भारतबाट आई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको अवस्था सामन्य रहेको सम्बन्धित गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुखहरुले बताएका छन् ।
जिल्लामा संक्रमित भएका मध्ये १८ जना निको भई घर फर्किसकेका छन् । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो ।









