असार १७, काठमाडौं ।
बुधबार देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।
यससँगै देशभर कुल १४ हजार ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा ११७ महिला र ३ सय ६५ पुरुष गरी ४ सय ८२ जना संक्रमित थपिएका छन्।



नेपालमा कोरोना भाइरस ९कोभिड—१९० बाट थप एक जनाको मृत्यु पुष्टि भएको छ। अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएको हो। मृतक पुरुषको स्वाब संकलन गरी सेती प्रदेशिक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता गौतमले बताए।
यस्तै, सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ। १४ हजार बढी संक्रमितमध्ये २ हजार ६१ जना १८ वर्षमुनिका संक्रमित रहेको उनले बताए। सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमुनिका छन्। उनीहरू आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन्।
पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ जनाको कोरोना परीक्षण भएको छ। अहिलेसम्म पीसीआर विधिबाट २ लाख ३३ हजार २ सय २७ जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट आजसम्म ३ लाख ६ सय २० जनाको परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ जना रहेका छन्।
यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ३ सय ६० जना उपचाररत रहेका छन्। बुधबारसम्म ४ हजार ६ सय ५६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।








