असार १९, गुल्मी ।
गुल्मीको इश्मा गाउँपालिका १ हस्तिचौरको मल्दीमा विहिबार राती गएको पहिरोमा परी घाइते भएका ५जनालाई नेपाली सेनाको हेलीकोप्टर मार्फत उपचारका लागि काठमाडौं लगिएको छ।
पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज विष्टको पहलमा घाइतेहरुलाई नेपाली सेनाको हेलीकोप्टर मार्फत काठमाडौं लगिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।



मल्दीमा गएको पहिरोमा परी घाइते भएकाहरु २७ वर्षीया ईश्वरी खत्री, ६४ वर्षीया टीका खत्री, २५ वर्षिया वसन्त खत्री, २१ वर्षीया सृजना सारु र ९० वर्षीया पुतली खत्रीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।
पहिरोमा परी वसन्त सारुका १८ महिने छोरा सुरज सारु र ईश्वरी खत्री की ७ वर्षकी छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ।
यस्तै, मुसिकोट नगरपालिका वडा २ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्ती पसल पहिरोले बगाउँदा अन्दाजी ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थले जानकारी दिए।









