असार २१,बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नं. ११ र १२ मा पर्ने भूपू सैनिक–कान्छीबजार सडकको दुवैतर्फ आइतबार वृक्षारोपण गरेको छ । विश्व वातावरण दिवस–२०७७ तथा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरुले ३ वर्ष कार्यकाल पुरा गरेको अवसरमा वृक्षारोपण गरिएको हो ।
२०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित तिलोत्तमाका जनप्रतिनिधिहरुले २०७४ असार २१ गते पदबहाली गरेकाथिए। सोही दिनको अवसर पारी नगरपालिकाका जनप्रतिनिधिहरुले हरेक वर्ष वृक्षारोपण गर्दै आएका छन् ।



आइतबार तिलोत्तमा वडा नं. ११ को रोहिणी पुलदेखि वडा नंं १२ को मोहनाजोतसम्मको पक्की सडकको दुबैतर्फ स्टोनिया जातका झण्डै एक हजार बिरुवा रोपिएको छ । युएनडिपी, नमूना एकीकृत विकास परिषद्, र जनउत्थान साकोससँगको सहकार्यमा गरिएको वृक्षरोपण कार्यक्रममा जनप्रतिनिधिका साथै राजनीतिक दल, विभिन्न संघ–संस्था, टोल विकास संस्था, क्लव, आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वृक्षारोपण सुभारम्भ गर्दै नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमाले नगरलाई हरियालीयुक्त, स्वच्छ र हराभरा बनाउने उद्देश्यले ’ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नारा अंगिकार गरेर बृक्षारोपण र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएको बताउनुभयो ।
नियमित सरसफाइ र हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको तिलोत्तमा नगरपालिकाले बुद्ध सर्किट र सिक्सलेन सडकमा समेत स्टोनियाका विरुवा रोपेको छ । नगरपालिकाले जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोपौं भन्ने अभियानसमेत सञ्चालन गर्दै आएको छ ।









