असार २२, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ।
बैठकमा कोरोना नियन्त्रणमा लाग्नुपर्नेमा सरकार र सत्तारुढ दल आन्तरिक विवादमा रुमल्लिएपछि त्यसबारे पनि समीक्षा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।



पार्टी कार्यालय सानेपामा दिउँसो दुई बजे बस्ने बैठकमा यही वर्षको फागुन ७ देखि १० सम्मका लागि तय भएको पार्टी महाधिवेशनको कार्यतालिका बारे छलफल हुने छ।
आइतबार बसेको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको थियो। तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोके पनि कोरोनाका कारण स्थगन भएसँगै महाधिवेशनको चाप बढेको छ।
कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे म्याद गत फागुनमा नै सकिएको हो। समयमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार एक वर्ष थपिएको म्यादसँगै फागुन ७– १० काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको कांग्रेसले त्यस अघि सबै तयारी सक्नुपर्ने हुन्छ।
क्रियाशिल सदस्यता र महाधिवेशन प्रतिनिधि चयन पनि विवादित बन्न सक्ने देखिएकाले आजको बैठकले आवश्यक थप कार्यविधि बनाउने छ।








