असार २४,काठमाडाैँ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार २ सय ५३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ।



मन्त्रालयका अनुसार बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ। अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन्। बुधबारसम्म २५ हजार ४० जना क्वारेन्टिनमा रहेको प्रवक्ता डा. गाैतमले बताए।
यसैबीच सरकारले स्थानीय तहहरुबाट शुल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ। केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शुल्क लिइरहेको खबर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ।
सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो।








