काठमाडौं ।
नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले शनिबार र त्यसपछि सार्वजनिक बिदा भए यो महिनाभर राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउस लिमिटेड पूर्णकालीन रुपमा खोल्न निर्देशन दिएको हो ।



राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको जानकारी दिए ।
सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न असार मसान्तसम्म शनिबारमात्रै होइन अन्य सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरूलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।
कोभिड–१९ कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।








