काठमाडाैँ ।
नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना नयाँ काेराेना भाइरस संक्रमित थपिएका छन्। यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १६ हजार ८ सय १ पुगेकाे छ। जसमध्ये ३८ जनाकाे काेराेनाबाट मृत्यु भइसकेको छ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका तीन, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौँका दुई र ललितपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।



यस्तै पछिल्लो २४ घण्टामा १ सय ४७ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुने कोरोना कुल संख्या ८ हजार ५ सय ८९ रहेकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार पीसीआर विधिबाट ३ हजार ९ सय १६ जनाको कोरोना परीक्षण भएको छ। हालसम्म २ लाख ८३ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण भएको छ।
अहिले देशभरीका क्वारेन्टिनमा २३ हजार ७ सय ८४ जना रहेको प्रवक्ता गाैतमले जानकारी दिए।
काठमाडाैँ उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना संकलन गर्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। नखुटोल, कोटेश्वर, शंखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिए।
अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ। उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको डा. पाण्डेले बताए।
असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उनले बताए। उनका अनुसार उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन्।
बैंक तथा वित्तिय संस्था, मालपोत कार्यालय र आइसियु लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन सुरु भएको उनले बताए।








