काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ सय १६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ। नेपालमा अहिलेसम्म कोरोना भाइरसकाे संक्रमणबाट ३८ जनाकाे मृत्यु भइसकेको छ।



स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको बताए। हालसम्म २ लाख ९३ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डा. गाैतमका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससंगै हालसम्म डिस्चार्ज हुनेकाे संख्या १० हजार ३ सय २८ पुगेको छ।
उनले देशभर २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा र ६ हजार ६ सय ९५ जना आइसाेलेशनमा उपचाररत रहेको जानकारी दिए।








