साउन २,काठमाडौं ।
आज देशभरको मौसम पूर्ण बदली भई अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तर प्रदेश एक, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षा समेत हुने महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। केहिदिन यता तुलनात्मक रुपमा कम पानी परेकामा आजदेखि फेरि पानी पर्ने क्रम बढ्ने महाशाखाले जनाएको छ।



दक्षिणी भु–भागमा रहेको मनसुनको न्यूनचापीय रेखा फेरि नेपाल नजिक सर्न लागेकाले मनसुन सक्रिय हुन खोजेको श्रेष्ठले बताए। आइतबारदेखि मनसुन सक्रिय भएर देशभर भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ। अहिले प्रदेश नम्बर एकको तराई भेग ,बागमती र गण्डकीको उच्च पहाडी भेग र कर्णाली र सुदूरपश्चिममा पानी परेको छ। यी स्थानमा दिउँसोसम्मै पानी पर्दै रोकिँदै गर्ने महाशाखाले अनुमान गरेको छ। दिउँसो काठमाडौं उपत्यकामा पनि पानी पर्नेछ।
यसैबीच आज प्रदेश नम्बर पाँच, सुदुरपश्चिम प्रदेशको मध्यपहाडी भु–भाग भई बग्ने साना नदीमा पानीको बहाव बढेर सर्तकता तह आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै सुदूरपश्चिम प्रदेश भएर बग्ने नदीहरुमा पनि पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन महाशाखाले आग्रह गरेको छ।








