काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ८५ जना काेराेना संक्रमित डिस्चार्ज भएकाे बताए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे कुल संख्या ११ हजार ५ सय ३४ पुगेकाे छ।



पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८८ जनाकाे पीसीआर परीक्षण गरिएको डा. गाैतमले जानकारी दिए।
यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षका एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
मन्त्रालयले ती पुरुषमा लामो समयदेखि डाइविटिज र मुटुको समस्या रहेको जनाएको छ। असार ३१ गते बेलुकी खोकी, ज्वरो तथा स्वास प्रश्वास लगायतका स्वास्थ्य समस्या देखिएपछि उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना भएका थिए।
उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएकोमा बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ।
हालसम्म देशभर २२ हजार ७ सय ५६ जना क्वारेन्टिनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ८ सय ७१ जना काेराेना संक्रमित आइसाेलेसनमा रहेका छन्।








