साउन ३,बुटवल ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बेलुकी साढे १० बजेदेखि सडक अवरुद्ध भएको हो ।
पहिरो गएको ठाउँमा रहेका गाडी सार्ने क्रममा सडक किनारको नालीमा फसेको लु १ क ११७५ नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



सडक माथिल्लो भागबाट निरन्तर ढुंगा सहितको पहिरो खसेकाले डोजर लगाउन समस्या भएको प्रहरीको भनाई छ । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ ।
पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट जेसीबी ल्याएर काम गर्ने तयारी भइरहेकाले सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने गिरीले बताए ।









