साउन ५,काठमाडौं ।
नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ। न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेकाले त्यो नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका महानिर्देशक सरजु कुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेका थिए। त्यस क्रममा वैद्यले ९ साउनपछि मात्रै क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गरे। उनका अनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ।



पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताए। यो मात्र अझै बढेर २ सय मिलि लिटर पानी पर्ने सम्भावना छ। न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्व पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको वैद्यले बताए।
२४ घण्टामा कहाँ पर्यो धेरै पानी ?
विभागका महासचिव वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलीमिटर पानी परेको छ। यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलीमिटर पानी परेको छ। यो परिणाममा अझै वृद्धि हुने वैद्यले बताए। ‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भने, ‘यो अझै बढ्छ र धेरै स्थानमा २ सय मिलिमिटरसम्म पानी पर्छ।’
नारायणीमा बाढी खतरामाथि, अरु चार नदीमा जोखिम
चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको हो। उक्त स्थानमा जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटरमाथि आइसकेको छ। वर्षा नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ। यस्तै नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गरेको हो।
उक्त स्थानमा जल सतहले ११ मिटर नाघेपछि सतर्कताको तह पार हुनुपर्नेमा जलसतहले ११. ९८ मिटर पार गरेको वैद्यले बताए। विभागले खतराको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पूर्वीनपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनिसकिएको वैद्यले जानकारी दिए। यस्तै कोशी कोशी नदीमा सतर्कताको तह पार गरेकाले भोलिसम्म खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ। यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने अनुमान विभागले गरेको छ।
यो वर्ष आगामी कात्तिकसम्म वर्षा हुने सम्भावना रहेको छ। सामान्यतया मनसुन असारमा सुरु भएर असोजमा सकिने भए पनि यो वर्ष भने झण्डै एक महिना पछिसम्म पानी पर्ने देखिएको छ। चार महिनामध्ये असारको मध्यदेखि भदौ मध्यसम्म अत्याधिक वर्षा हुने गर्दछ। तर, यो पटक मौसम सक्रिय भएदेखि नै वर्षाको दर उच्च छ।
‘चार महिनामध्ये असारको आधा आधीदेखि भदौ आधा आधीसम्म पानी बढी पर्ने समय हो’, महानिर्देशक वैद्यले भने, ‘तर यो पटक मनसुनको सुरुदेखि नै अत्याधिक पानी परिरहेको छ, कात्तिकसम्म पर्ने देखिन्छ। एक वर्षमा पर्ने पानीको ८० प्रतिशत पानी मनसुनको चार महिनामा पर्ने उनले जानकारी दिए।
हरेक मनसुनमा बाढी पहिरोका कारण हुने क्षति घटी बढी हुने भन्दै वैद्यले यसपटक हिउँदमा र प्रि-मनसुनमा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्च भएको बताए।
हरेक दिन ‘मिडिया ब्रिफिङ’
मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताए। आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उनको जोड थियो।
‘पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्न सक्ने आधार बनाएका छौं’, मन्त्री पुनले भने, ‘आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ।’ उनले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्वसूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए।
‘बाढी र पहिरोको सही सूचना सही समयमा दिऔं, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनुनपरोस्।’ यस्तै बाढीपहिरोको सूचनालाई थप प्रभावकारी बनाउन भोलि मंगलबारदेखि अधिक वर्षा नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिए।
विभागले सोमबारदेखि बिहान हरेक दिन बिहान ११: ०० बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने भएको छ।








