काठमाडौँ ।
मंगलबार नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरीका विभिन्न आइसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन्।
क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन्। पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ। आजसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ।



मंगलबार विभिन्न अस्पतालबाट ६ सय ९ जना निको भएर घर फर्किएका छन्। आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।
प्रवक्ता गौतमले नेपालमा कोरोना संक्रमणको जोखिम कम भएका कारण सरकारले भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय नगरेको बताए। हवाई माध्यमबाट हुने व्यापार व्यवसायको असरलाई ध्यानमा राख्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सुचारु भएको उनले बताए।
नियमित उडान बन्द भएकाले स्वदेशबाट विदेश जान तथा विदेशबाट फर्किन समस्या भएकाले त्यसको सहजिकरणका लागि सरकारले हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट हवाई उडान खुल्ला गर्ने निर्णय गरेको थियो।








