साउन ६,काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सबै अधिकार विद्यालयलाई नै दिने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयसँगै बोर्डले ११ को परीक्षाको आन्तरिक मुल्यांकन गरी मार्कसिट दिने जिम्मा विद्यालयलाई दिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले जानकारी दिए।
‘शिक्षा मन्त्रालयले कक्षा १० को जस्तै ११ को परीक्षा पनि विद्यालय नै नै आन्तरिक मुल्यांकन गर्ने निर्णय गरेको थियो,’उनले भने,‘त्यही अनुसार बोर्डले पनि विद्यालयलाई सबै जिम्मा दिएका छौँ। अब सबै मूल्यांकनको काम विद्यालयले गर्नुपर्छ।’ उनले त्यो अधिकारसहितको कार्यविधि बनाउँदै गरिएको जानकारी दिदै उनले तीन दिनभित्रमा सार्वजनिक गर्ने जानकारी दिएका छन्।



कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ। कक्षा १० को परीक्षाका लागि पनि बोर्डले त्यही व्यवस्था गरेको थियो।
बोर्डका अनुसार कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राख्ने छ भने, परीक्षा लिने र लब्धाङ्क प्रमाणपत्र दिने अधिकार विद्यालयलाई दिइएको छ।








