साउन ७,काठमाडौं ।
पुराना कम्युनिस्ट नेता बरमन बुढाको निधन भएको छ।

रोल्पाको थबाङ घर भएका बुढाको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।
आन्द्राको क्यान्सर पीडित बुढाको एक वर्षदेखि उपचार हुँदै आएको थियो। २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट नौजना सांसदमा विजयी भएका थिए। तीमध्ये बरमन बुढा रोल्पा क्षेत्र नम्बर १ का विजयी भएका थिए।



उनी तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत होमिएका थिए।
प्रचण्डद्वारा दुःख व्यक्त
नेकपा अध्यक्ष प्रचण्डले रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । प्रचण्डले बुढालाई ‘संघर्षका प्रेरणादायी अभिभावक’ को रुपमा स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो’, प्रचण्डले जारी गरेको शोक बक्तव्यमा भनिएको छ, ‘उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ ।
संघर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’








