काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३३ जना संक्रमित थपिएका छन्।



यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरकी ८५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रायलका अनुसार मृतक निमोनिया र मुटुरोगबाट पीडित थिइन्। उनको वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। यससँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ४४ पुगेकाे छ।
मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १०७ जना काेराेना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे संख्या १२ हजार ९ सय ४७ पुगेकाे छ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण भएको छ । हाल १९ हजार ७ सय ४४ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार ३ सय ८३ जना आइसोलेसनमा रहेका छन् ।
पाँचथर, भोजपुर, संखुवासभा, मनाङ्ग, मुस्ताङ र रसुवा गरी ६ जिल्ला संक्रमण मुक्त रहेका छन् ।








