साउन १२,काठमाडौं ।
भारतमा एकै दिन ५० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ५२५ जनामा कोरोना पुष्टि भएको हो। योसहित भारतमा कुल संक्रमितको संख्या १४ लाख ३६ हजार पुगेको छ।
यस्तै भारतमा ७ सय १६ जनाको मृत्यु भएको छ। मृतकको कुल संख्या ३२ हजार ८१२ पुगेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ५५ हजार ५ सय, ब्राजिलमा २३ हजार ४ सय, दक्षिण अफ्रिकामा ११ हजार, रसियामा ५ हजार ७ सय तथा मेक्सिकोमा ६ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ।



समाचार एजेन्सीहरुका अनुसार विश्वभर पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या २ लाख १४ हजार भन्दा माथि छ। यस्तै अमेरिकामा ४ सय ४५, ब्राजिलमा ५ सय ५६, मेक्सिकोमा ७ सय २९ एवम् दक्षिण अफ्रिकामा १ सय १४ जनाको मृत्यु भएको छ।
यस्तै विश्वभर कोरोना संक्रमणपछि उपचार गराएर घर फर्किनेको संख्या १ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २९ हजार मानिस डिस्चार्ज भएसँगै कोरोनामुक्त हुनेको कुल संख्या १ करोड पुगेको हो। विश्वभर कुल संक्रमितको संख्या १ करोड ६४ लाखमध्ये ६ लाख ५१ हजार जनाको मृत्यु भइसकेको छ।
यसैबीच स्पेनले कोरोना भाइरसका संक्रमितहरु फाट्टफुट्ट देखिए पनि अवस्था सामान्य बनिसकेको जनाएको छ। स्पेनमा कोरोनाको दोस्रो लहर चलिरहेको आशंका गरिएका बेला स्पेनले अवस्था सामान्य बनिसकेको र पर्यटकका लागि सुरक्षित भइसकेको दाबी गरेको हो।
त्यहाँ संक्रमणको दर तीव्र हुँदै गएपछि क्वारेन्टिन नियम र मास्क प्रयोगलाई कडाई पारिँदै गएको छ। यद्यपि विदेशमन्त्रीले भने आफ्ना नागरिक र पर्यटकका लागि स्पेन सुरक्षित रहेको दाबी गरेका हुन्।









