काठमाडौं ।
रमेशकुमार सिलवाल फेरि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव बन्न सफल हुनुभएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्यसचिवमा पुनः नियुक्त गरेको हो ।
गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाका लाागि सिलवाललाई सदस्यसचिव नियुक्त गर्नुभएको थियो ।नयाँ राष्ट्रिय खेलकुद विकास ऐनअनुसार उहाँसहितको राखेप बोर्ड गत असार १७ गते पदमुक्त भएको थियो ।



पहिलोपटक २७ जनाले सदस्यसचिवका लागि आवेदन दिएकामा छनोट समितिले सिलवाल, नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा र पूर्वराष्ट्रिय भलिबल खेलाडी अञ्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा पठाएको थियो । तीनमध्ये मन्त्रिपरिषद्ले सिलवाललाई चार वर्षका लागि नियुक्त गरेको हो ।
त्यसैगरी, मन्त्रिपरिषद्ले उपाध्यक्षमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालनिकटका शिव कोइरालालाई नियुक्त गरेको छ । निवर्तमान उपाध्यक्ष पिताम्बर तिम्सिना भने फालिनुभएको छ । योसँगै राखेपमा फेरिपनि राजनीतिक भागबन्डाका रुपमा बोर्ड तयार हुने भएको छ ।








