
अनिल खत्री /गुल्मी ।
अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।



पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।
शुक्रबार राति करिब साढे सात बजेको समयमा घटना घटेको हो ।सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । सोही स्थानमै अन्य केही घरहरु समेत जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडा अध्यक्ष ज्ञवालीले बताए ।









