बुटवल ।
रुपन्देही व्यापार संघले आइतवार एक विज्ञप्ति जारी गर्दै पछिल्ला समयमा समुदायमा कोरोना संक्रमण देखापरेको भन्ने समाचार सार्वजनिक भएका कारण वजारमा भिडभाड गर्ने काम बन्द गर्दै पसल तथा व्यवसाय सञ्चालकहरुलाई आफ्नो व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गरेर मात्र सञ्चालन गर्न अपिल गरेको छ ।
संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानिधि भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही दिन यता वजारमा अस्वाभाविक भिडभाड बढेको र वजारमा सामाजिक दुरी कायम गर्ने तथा सुरक्षाका निर्देशिकाहरु पालन नगरेको भन्ने गुनासा सुनिन आएको हुदा त्यसमा संघको गम्भिर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।



समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन गरिएका स्वाब परिक्षणका क्रममा बुटवल लगायत यस क्षेत्रमा पनि समुदायमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाचार बाहिर आएको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन भनिएको छ ।
लकडाउनका कारण सम्पूर्ण अर्थतन्त्र तहसनहस बनेको अवस्थामा जनजीवनलाई कोरोनास“गै जुध्दै गतिविधि सुचारु गर्ने वातावरण बनाउने जिम्मेवारी हामी सबैको हातमा रहेको भन्दै विज्ञप्तिमा सामाजिक दूरी कायम गर्ने, सचेतना, सतकर्ताका उपायको पूर्णपालना गर्ने गराउने कुरामा कुनै सम्झौता नगर्न व्यवसायीहरुलाई आव्हान गरिएको छ ।









