साउन २५,काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भदौ पहिलो साताबाट लिने भनिएकाे परीक्षा स्थगित भएको छ। सरकारले लामो दूरीको यातायात भदौ १५ पछिमात्रै सञ्चालनमा ल्याउने निर्णय गरेसँगै परीक्षा स्थगित भएको हो।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ पहिलो, दोस्रो र तेस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय स्थगित भएको जानकारी दिए।



त्यस्तैगरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) काे आइतबार बसेको बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ।
यसअघि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुला गर्ने निर्णय गरेको थियो।
अत्यावश्यकबाहेक सबै सेवा बन्द
त्रिभुवन विश्वविद्यालय(त्रिवि) रजिष्टार कार्यालयले केन्द्रीय कार्यालयसहित त्रिविका अन्य क्याम्पसहरुमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ। विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि त्रिविले यस्तो निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले अन्य सेवा बन्द गरिएको जानकारी दिए।








